त्रिभुवन विमानस्थलमा चुरोट तस्करको ‘र्‍याकेट’, कर्मचारीकै मिलेमतोमा अष्ट्रेलिया पठाइने खुलासा


काठमाडाैं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत विदेशी चुरोटको ठूलो मात्रा तस्करी भइरहेको खुलेको छ। कम भन्सार शुल्क तिरेर नेपाल भित्र्याइने चुरोट अष्ट्रेलिया सहितका तेस्रो मुलुकमा विमानमार्फत पठाइने गरिएको स्रोतले जनाएको छ।

विमानस्थलमै सक्रिय एक शक्तिशाली कार्गो समूहले भन्सार र अन्य विमानस्थल कर्मचारीलाई मिलाएर करोडौं मूल्यका चुरोट विदेश पठाउने गरेको स्रोतले दाबी गरेको छ। उनीहरूले तेस्रो मुलुकबाट न्यून भन्सार दरमा चुरोट नेपाल भित्र्याउने र पछि सोही सामानलाई कानुनी प्रक्रियामै रहेको जस्तो देखाएर पुनः विदेश पठाइदिने गरेको बताइएको छ।

चुरोटसँगै नेपालमै उत्पादन हुने सुर्य चुरोट समेत ठूलो मात्रामा विदेश पठाउने गरिएको पनि खुलासा भएको छ। स्रोतका अनुसार समूहले गाडीमा बाकस–बाकस प्याकिङ गरेर विमानस्थलसम्म पुर्‍याइने चुरोट भन्सारमा ‘सेफ पास’ गराइदिन कर्मचारीहरूसँग सेटिङ मिलाएको छ। त्यही मिलेमतोका कारण कुनै पनि चेकजाँच नहुने, सिधै कार्गोमार्फत तेस्रो मुलुकतर्फ पठाइने गरेको जानकारी छ।

यो नेटवर्क यति संगठित र चलायमान बनेको छ कि विमानस्थलभित्रै बसेर तस्करी गर्नेहरू लाखौँदेखि करोडौँ रुपैयाँसम्म कमाइरहेको बताइएको छ। स्रोतले भन्याे, “यो वेथिति अहिले अति नै बढेको छ, दैनिक रूपमा लाखौँ रुपैयाँ बराबरको चुरोट विमानस्थलबाट बाहिरिँदैछ।”

सुरक्षा व्यवस्थाको नाममा कडाइ गरिन्छ भनिए पनि विमानस्थलका भित्रभित्रैका कर्मचारीकै संलग्नताले तस्करी रोकिनुको साटो झनै बढ्दै गएको देखिन्छ। यसबारे सम्बन्धित निकायले हालसम्म कुनै ठोस कारबाही नगरेको आरोपसमेत लगाइएको छ।

प्रतिक्रिया