
अख्तियार प्रमुख राईलाई धम्क्याउने तीन जना पक्राउ
काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तीन जना पक्राउ परेका छन्। धम्की प्रकरणमा संलग्न भएको आशंकामा काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टाराईले जानकारी दिए।
पक्राउ परेकाहरूको पहिचान खुलाइएको छैन र उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेकाे छ।
यसअघि आयोग प्रमुख राईसहित १० जना विशिष्ट व्यक्तिलाई ज्यान सुरक्षा सम्बन्धी विशेष सतर्कता अपनाउनुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयले मातहत निकायहरूलाई परिपत्र जारी गरेको थियो।
परिपत्रअनुसार, आयोगका प्रमुख आयुक्त प्रेम राई, पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का, पूर्वगृहमन्त्री रमेश लेखक र बालकृष्ण खाणलाई ज्यान मार्ने धम्की आएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो।
यस्तै, परिपत्रमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ, पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द्र ठकुरी, तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि विशेष सुरक्षा व्यवस्था मिलाउन निर्देश गरिएको थियो।



कागजपत्र |
