वैदेशिक रोजगारीको नाममा करोडौँ ठगी, तीनजना पक्राउ


काठमाडौं- वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र सजिलो भिसाको प्रलोभन देखाई विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–८ का ४० वर्षीय श्याम चन्द्र अधिकारी (हाल ललितपुर–५ बस्ने), नवलपरासी पश्चिम बर्दघाट–१ का ४४ वर्षीय दिलबहादुर सारू मगर (हाल काठमाडौं–२६ बस्ने) तथा सर्लाही ब्रह्मपुरी–२ का ३५ वर्षीय चन्द्र भुसण प्रसाद (हाल ललितपुर महालक्ष्मी–५ बस्ने) रहेका छन्।

उजुरी अनुसार श्याम चन्द्र अधिकारीले अल्बानिया, अजरबैजान, मेसोडोनिया, सर्बिया लगायतका देशमा पठाइदिन्छु भन्दै ६ जना पीडितबाट १ करोड २५ लाख ७८ हजार ८ सय रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए।

दिलबहादुरले सर्बिया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ४ लाख ५० हजार रुपैयाँ, र चन्द्र भुसणले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितबाट ३ लाख ८० हजार रुपैयाँ लिई फरार भएको उजुरी परेको प्रहरीले जनाएको छ।

उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले श्याम चन्द्रलाई मंगलबार ललितपुर–५ बाट, दिलबहादुरलाई काठमाडौं–२६ बाट र चन्द्र भुसणलाई बुधबार ललितपुर–५ बाट पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये दिलबहादुर र चन्द्र भुसणलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ भने श्याम चन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

प्रतिक्रिया