
प्रभु बैंकका डीसीईओ पोख्रेल र चिफ रिस्क अफिसर श्रेष्ठ पनि पक्राउ
काठमाडौं- प्रभु बैंकका उच्च व्यवस्थापन तहका अधिकारीहरूलाई सीआईबीले एकपछि अर्को गर्दै पक्राउ गरेको छ। आइतबार दिउँसो अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयमै पुगेर सीआईबीको टोलीले डेपुटी सीईओ मणिराम पोख्रेललाई नियन्त्रणमा लिएको हो।
यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि सीआईबीले पक्राउ गरिसकेको छ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि कर्जा अपचलन सम्बन्धी गम्भीर आरोपमा अनुसन्धान गर्दै आएको छ। सोही प्रकरणसँग सम्बन्धित मानिँदै बैंकका अन्य शीर्ष अधिकारीहरूलाई पनि समातिएको हो।
यसै क्रममा सीआईबीले बैंकका प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई समेत पक्राउ गरेको छ। श्रेष्ठ लामो समयसम्म कर्जा अधिकृतको रूपमा कार्यरत रहँदा विवादित कर्जासम्बन्धी गतिविधिमा संलग्न भएको आशंका प्रहरीले गरेको छ।
बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त भने एक सातादेखि विदामा रहेकी छिन्। बाँकी उच्च व्यवस्थापनका कर्मचारीहरू साँझसम्म बैंकमा उपस्थित रहे पनि वातावरण तनावपूर्ण रहेको स्रोतले जनाएको छ।



कागजपत्र |
