
दुर्गा प्रसाईंको रिहाइ माग गर्दै विद्युत प्राधिकरणकाे एप ह्याक
काठमाडौं- एक ह्याकर समूहले नेपाल विद्युत प्राधिकरणको मोबाइल एप ह्याक गरेको दाबी गर्दै हिरासतमा रहेका विवादित व्यवसायी दुर्गा प्रसाईंको रिहाइ माग गरेको छ। ‘नेपाली फर नेपाल’ नामक उक्त समूहले प्राधिकरणको एपको होमपेजमा ब्यानर राखेर प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई चेतावनी दिएको छ। नभए ‘साइबर प्रोटेस्ट’ गर्ने धम्की पनि दिएको छ।
समूहले टेलिग्राममा सार्वजनिक गरेको भिडिओमा प्राधिकरण एपको कन्टेन्ट मेनेजमेन्ट सिस्टममा सम्पूर्ण पहुँच ह्याकरसँग रहेको देखाइएको छ। एपको ड्याशबोर्ड, नोटिफिकेसन, ब्लग, गुनासो, चार्जिङ स्टेसन, प्रयोगकर्ता विवरण र सुझावहरूमा पनि ह्याकरले पहुँच पाएको दाबी गरिएको छ।
यसअघि यही समूहले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइटमा आक्रमण गरिसकेको थियो। केही समय अवरुद्ध भएको वेबसाइट अहिले सञ्चालनमा छ। समूहले आफूलाई ‘नेपालको रिसर्च एन्ड एनालाइसिस अर्गनाइजेसन’ बताउँदै अन्य सरकारी वेबसाइटहरूमा पनि आक्रमण गर्ने चेतावनी दिएको छ।
यद्यपि विद्युत प्राधिकरणले आफ्नो एप ह्याक नभएको दाबी गरेको छ। सूचना अधिकारी सर्वजितकुमार चौधरीका अनुसार, वेबसाइट र मोबाइल एपमा प्रणाली अपग्रेडको काम भइरहेको छ। प्राधिकरणले २७ कात्तिकमा सूचना जारी गर्दै २९–३० कात्तिक २४ घण्टासम्म सिस्टम अपग्रेडका कारण सेवा अवरुद्ध हुने जानकारी गराएको थियो।
समूहले दुर्गा प्रसाईं समर्थकको रूपमा अन्य पाँच सरकारी निकाय र संस्थाको वेबसाइट ह्याक गरेको दाबी पनि गरेको छ। यीमध्ये नेपाल विद्युत प्राधिकरण, सडक विभाग, उद्योग विभाग, मिर्मिरे लघुवित्त र इन्द्रावती क्याम्पस रहेका छन्। समूहले वर्तमान अन्तरिम सरकारविरुद्ध साइबर युद्ध घोषणा गरेको छ र सरकारसँग सम्बन्धित सबै साइटमा द्रुत रूपमा आक्रमण गर्ने धम्की दिएको छ।




कागजपत्र |
