प्रसूति केन्द्रको भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा


बाजुरा- हिमाली गाउँपालिका–६ मा निर्माण भएको प्रसूति केन्द्र भवनमा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त स्वास्थ्य कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार स्वास्थ्य कार्यालय, बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोक कुमार सिंह, शिक्षा विकास तथा समन्वय इकाईका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया, सब–इन्जिनियर नरेश रावत, उपभोक्ता समिति अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीलाई प्रतिवादी बनाइएको छ।

२०७५/७६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराबाट २० लाख रुपैयाँ र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २०६ रुपैयाँ गरी कुल २६ लाख १५ हजार २०६ रूपैयाँमा सम्झौता गरिएको थियो। तर आयोगका अनुसार लागत अनुमानमा तोकिएका मापदण्डअनुसार काम नगरी प्रयोगमै ल्याउन नसक्ने किसिमको संरचना बनाइएको पाइएको छ।

यसबाहेक, निर्माण कार्य तोकिएकै अनुसार सम्पन्न भएको भनी झुट्टा बिल–विवरण र ‘कार्य सम्पन्न प्रतिवेदन’ तयार पारेर १५ लाख ८ हजार ५५७ रुपैयाँ गैरकानुनी रूपमा भुक्तानी लिएको प्रमाण भेटिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार गैरमापदण्डमै बनेको संरचना अहिले प्रयोगविहीन बनेर भग्नावशेषमा परिणत भइसकेको छ। यसरी १५ लाख ८ हजार ५५७ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना भएको देखिएकाले सम्बन्धित ६ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया