प्रहरीमा नयाँ नेतृत्वः यी चारमध्ये कस्को सम्भावना कति ?


हरेक जनतालाई सरकारको उपस्थिति जनाउने नेपाल प्रहरीले सम्भवतः आजदेखि नयाँ नेतृत्व पाउँदैछ, भलै त्यसको कार्यान्वयन २७ गतेदेखि हुन्छ । ३२ औं प्रहरी महानिरिक्षक (आईजी) चन्द्रकुबेर खापुङले भदौ १९ गतेदेखि गरेको कमाण्ड अब नयाँ आईजीलाई सुम्पने दिन नजिकिँदैछ ।

संगठनको सम्हालेको चौथो दिनमै मुलुकमा अप्रत्याशित रुपमा ठूलो घटनाको सामना गर्नुपर्यो । सरकार परिवर्तन भयो, संगठनका साथै मुलुकले ठूलो जनधनको क्षति ब्यहोर्यो । अधिकार र कर्तव्यलाई आत्मसाथ गर्दै खापुङले जति सके त्यो गरेर ७१ दिनको कार्यकाल बिहीबार सकाउँदै र परिवर्तित सरकारले जिम्मेवारी दिएको अधिकृतलाई संगठनको जिम्मेवारी सुम्पँदै बिदा हुँदैछन् ।

लामोसमयसम्म कमाण्ड गरेकाहरु संगठनमा आएको गएको पत्तै नहुने अवस्थामा छोटो समयकै लागि कमाण्ड गरेका खापुङले भने इतिहासमा सधैं सम्झिरहने कालखण्डको नेतृत्व गरे, भलै त्यसको प्रभाव र नतिजा के–कस्तो भयो, त्यो छलफलकै विषय रहला ।

राजनीतिक परिवर्तनसँगै नयाँ सरकारले घोषणा गरेको आम निर्वाचनलाई सफल बनाउनु आगामी नेतृत्वको ठूलो चुनौती देखिएको छ, त्यो भन्दा पनि दिन–रात, घाम–पानी जनताको शान्ति सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरुको गुमेको मनोबल र आत्मविश्वास फिर्ता ल्याउनु आगामी नेतृत्वको काम हुनेछ । भदौ २३ र २४ गतेको प्रदर्शनपछि प्रहरी कर्मचारीले भोगेको मानसिक र शारिरीक पीडालाई भुलाउँदै पुनः मैदानमा खट्न अभिप्रेरित गर्नु आगामी नेतृत्वको प्रमुख काम हुनेछ । यतिबेला एउटा प्रहरी हरेक बिहान ‘ड्युटी जाउँ कि नजाउँ’, ‘राजीनामा दिन पाए हुन्थ्यो’, ‘आज कतै आन्दोलन त छ कि ?’ भन्दै उठ्न परिरहेको अवस्था छ । त्यसकारण त्यस किसिमको मनोभावनाबाट गुज्रिरहेको अवस्थाबाट मुक्त गराउन आगामी नेतृत्वको प्रमुख दायित्व हो ।

बिहीबारदेखि अवकाशमा जान लागेका खापुङका स्थानमा सरकारले सम्भवतः आज (सोमबार) निर्णय लिनेछ । संगठनको नेतृत्वका लागि यतिबेला चार जना अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी)हरु दौडमा रहेका छन् । त्यसमा कसले बाजी मार्छ ? अब धेरै प्रतिक्षा गर्नुपर्ने छैन ।

एआईजीहरु दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोजकुमार केसी र सिद्धिविक्रम शाह यतिबेला संगठन नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् ।

पछिल्लो घटनाक्रमसँगै सबैभन्दा बलियो प्रतिस्पर्धीका रुपमा एआईजीद्वय दानबहादुर कार्की र मनोजकुमार केसी देखिएका छन् । त्यसमध्ये कार्की बरियतामा शीर्षस्थानमा रहेका एआईजी भएको हुनाले उनको सम्भावना बलियो देखिएको छ, तर जेनजी प्रदर्शनका क्रममा उपत्यका काठमाडौं प्रहरीको कमाण्ड सम्हालेका कार्कीको कमाण्डिङ चुस्त र बलियो हुन नसकेको भन्ने आरोपबाट उनी मुक्त हुन सकेका छैनन् ।

भन्नेहरुले कार्की हालका गृहमन्त्री ओमप्रकाश अर्यालको गृहजिल्लाका र प्रधानमन्त्री सुशीला कार्कीकै ‘थर’का मात्र नभई बरियताको पहिलो स्थानमा रहेको मात्र नभई सरकारले विवादरहित निर्णय गर्नुपर्ने अवस्थाका कारण उनलाई नै नियुक्त गर्ने विश्वास लिएका छन् । उनीबाहेक अन्यलाई नियुक्त गरेको खण्डमा नियुक्ति नहुनेहरुले न्यायालयको ढक–ढक्याउने सम्भावना रहेको हुनाले त्यसको ‘लफडामा’ सरकार नपर्ने अनुमान समेत गरेका छन् ।

बरियतामा दोस्रो रहेका राजन अधिकारी पनि संगठन नेतृत्वका लागि चर्चामा रहे पनि तेस्रो बरियतामा रहेका डा. मनोजकुमार केसीको सम्भावना बढी रहेको पनि पछिल्ला दिनमा देखिन थालेको छ । सरकारले आईजी नियुक्तिमा आफ्नो निर्णय गर्ने हुँदा भ्रष्टाचारको अन्त्यलाई मूल मुद्दा बनाएर सडकमा उत्रिएको जेनजी पुस्ताको आन्दोलनबाट बनेको सरकारले अनुसन्धानमा दख्खल राख्दै पछिल्लो समय भ्रष्टाचारका मुद्दा ब्यूँताउँदै कारबाहीको सुरुवात गरेका सिआईबीका एआईजी केसीलाई कमाण्ड सुम्पिएको खण्डमा आश्चर्यचकित भने बन्नुपर्दैन ।

हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को कमाण्ड गरिरहेका डा. केसी संगठनमा अपराध अनुसन्धानमा दख्खल राख्ने अधिकृतका रुपमा मानिन्छन् ।

यी तीन जना एआईजीहरु नेपाल प्रहरीमा प्रहरी निरिक्षक (इन्स्पेक्टर)बाट प्रवेश गरेका हुन् ।

त्यस्तै अर्का एआईजी सिद्धिविक्रम शाह पनि दौडमा रहे पनि उनको सम्भावना भने ज्यादै कम रहेको सुरक्षाजानकारहरु बताउँछन् । राष्ट्रिय अनुसन्धानबाट नेपाल प्रहरीमा आएका शाहको आईजी नहुनुमा मुख्य कारकतत्व नै त्यही हो भन्ने पनि ठानिएको छ ।

प्रहरी महानिरिक्षक नियुक्ति विषय सरकारको अधिकारको विषय रहेको हुनाले घोषित आम निर्वाचनलाई सफलपूर्वक सम्पन्न गर्ने अभिभारा पूरा गर्नका लागि कमाण्डिङ क्षमता भएको अधिकृतलाई नै संगठन नेतृत्वको जिम्मेवारी सरकारले दिनेछ । त्यसका लागि यी चारजनामध्ये जसलाई सरकारले उपयुक्त देख्छ, उसैलाई संगठनको ३३ औं नेतृत्व सुम्पनेमा कुनै दुईमत छैन ।

प्रतिक्रिया