
संखुवासभामा कुटपिट र जबरजस्ती रकम असुल्ने समूह प्रहरी नियन्त्रणमा
संखुवासभा- संखुवासभाको चैनपुरमा आपराधिक लाभ कसुरमा संलग्न रहेको आरोपमा ६ जना युवक पक्राउ परेका छन्।
प्रहरीले प्युठान घर भई हाल चैनपुर बसोबास गर्ने ३० वर्षीय केबी पुन मगर, चैनपुर नगरपालिका–७ का २५ वर्षीय लव आले मगर, ३१ वर्षीय युवराज पिठाकोटे मगर, २५ वर्षीय राजु भन्ने यमसिख यसमाली मगर, २५ वर्षीय प्रदीप समाल मगर र २९ वर्षीय ऐम बिरेन यसमाली मगरलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार, कात्तिक १२ गते राति करिब १० बजे सुनसरी गढी गाउँपालिका–५ घर भई हाल चैनपुरमा डेरा गरी बस्ने अक्षय चौधरीलाई ती व्यक्तिहरूले मोटरसाइकल रोकेर कुटपिट गर्दै चाबी खोसेका थिए। त्यसपछि उनलाई पदमबहादुर यसमाली मगरको घरमा जबरजस्ती लैजाँदै सिसाको बोतल फुटाउँदै मारिदिने धम्की दिएका र भिडियो खिचेका थिए।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार, ती युवकहरूले भिडियो मिडियामा हालिदिने धम्की दिँदै चौधरीबाट ८१ हजार १ सय ४५ रुपैयाँ जबरजस्ती असुल गरेका थिए।
पीडितले दिएको जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट सबै अभियुक्तलाई नियन्त्रणमा लिएर ३८ हजार ४ सय ७० रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
प्रहरीले पक्राउ परेकामाथि आपराधिक लाभ कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।



कागजपत्र |
