
डोटीमा शिक्षिका मृत फेला, शिक्षा अधिकृत पक्राउ
डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया जानकी खड्का मृत फेला परेकी छिन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार, खड्का घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। घटनाको अनुसन्धानका लागि शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावललाई पक्राउ गरिएको छ।
रावलमाथि खड्कालाई आत्महत्या गर्न बाध्य पारिएको आरोप लागेको बताइएको छ। प्रहरी निरीक्षक जोशीले भने, “घटनाको अनुसन्धान भइरहेको छ। रावलमाथि आत्महत्या दुरुत्सानमा अनुसन्धान भइरहेको छ।”
घटनास्थलमा रावलको नाममा लेखिएको सुसाइड नोट पनि फेला परेको छ भने अनुसन्धान जारी छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।
जानकी खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका थिइन्। यसअघि उनी डिस्कभरी स्कुल धनगढीमा कार्यरत थिइन् र शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति पाएकी थिइन्।
जानकी खड्का अविवाहित थिइन् भने पक्राउ परेका रावलले विवाहपछि सम्बन्ध विच्छेद गरिसकेका छन्।



कागजपत्र |
