आन्दोलनरत नर्सद्वारा दुई घण्टा सेवा ठप्प


काठमाडौं- निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक सरकारको निर्धारणअनुसार लागू हुनुपर्ने मागसहित नर्सहरू आन्दोलनमा उत्रिएका छन्। सोही मागलाई दवाब दिन उनीहरूले बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा सेवा ठप्प पारेका हुन्।

नेपाल नर्सिङ संघको आह्वानअनुसार २ कात्तिकमा सार्वजनिक गरिएको नयाँ चरणको आन्दोलन कार्यक्रमअनुसार १२ कात्तिकदेखि दैनिक दुई घण्टा सेवा बन्द गरिएको हो। संघका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यदलले कात्तिक १८ मा बुझाउने प्रतिवेदन अध्ययनपछि आन्दोलनका कार्यक्रम फेरि तय गरिनेछ।

नर्सहरूले राखेको माग सम्बोधन गर्न मन्त्रालयले गठित कार्यदलको कार्यअवधि छठपछि सात दिन तोकिएको छ।
यसअघि, संघको निर्देशनअनुसार ४ कात्तिकदेखि नर्सहरूले हातमा कालोपट्टी बाँधेर सेवा दिइरहेका थिए।

न्यूनतम तलब, सेवा सुविधा, जोखिम भत्ता, स्तरवृद्धि लगायतका विषय समेटिएको १५ बुँदे मागसहित नर्सहरू आन्दोलनरत रहेका छन्।

प्रतिक्रिया