
सडक डिभिजनका इन्जिनियरसहित चारजनामाथि २ करोड ३५ लाख भ्रष्टाचारको मुद्दा
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहा जिल्लाको लहानस्थित सडक डिभिजन कार्यालयका तत्कालीन डिभिजनल इन्जिनियर रविन्द्रलाल दाससहित चार जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीहरूले २ करोड ३४ लाख ९९ हजार ९४५ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको ठहर गरिएको अख्तियारले जनाएको छ।
मुद्दामा समावेश अन्य अभियुक्तहरूमा सडक डिभिजन कार्यालय लहानका तत्कालीन इन्जिनियर शैलेन्द्र चौधरी, सब–इन्जिनियर चन्द्रकान्त चौधरी र जय धनन्जय/रब्बानी जेभीका प्रोपराइटर जफिर कवारी रहेका छन्।
अख्तियारका अनुसार, कल्याणपुर नगरपालिका–५, चिकनामा प्रदेश सरकारको योजनाअन्तर्गत सडक निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरी ठेकेदारसँग मिलेमतोमा अनियमितता गरिएको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानपछि उक्त योजनामा आर्थिक हेरफेर र भ्रष्टाचारको स्पष्ट प्रमाण भेटिएकाले आयोगले चारै जनामाथि मुद्दा दायर गरेको हो।



कागजपत्र |
