
मधेसकाे मुख्यमन्त्रीमा दोहोरो दाबीपछि प्रदेश प्रमुखकाे कार्यालयमा तनाव, सेना परिचालन
जनकपुरधाम — मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयमा चर्को विवाद उत्पन्न भएको छ। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले आ–आफ्नो नेतृत्वमा सरकार गठनको दाबी पेश गरेपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीको कार्यालयमा तनावपूर्ण अवस्था सिर्जना भएको हो।
बुधबार बिहान लोसपाका नेता जितेन्द्र सोनल लाई मुख्यमन्त्री बनाउन जनमतसहित छ दलको समर्थनमा ५७ सांसदको दाबीपत्र प्रदेश प्रमुखसमक्ष पेस गरिएको थियो। तर केही घण्टामै कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव ले एमाले र जनमतका सांसदहरूको समर्थनसहित ५८ सांसदको दाबीपत्र बुझाएपछि सत्ता समीकरण झन् पेचिलो बनेको छ।
दुवै समूहले आ–आफ्नो बहुमत भएको दाबी गर्दै प्रदेश प्रमुख कार्यालय पुग्दा तनावपूर्ण स्थिति सिर्जना भएको थियो। सम्भावित झडप रोक्न प्रदेश प्रमुख कार्यालयमा सेनाको तैनाथी बढाइएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य ले भने, “प्रदेश प्रमुखको सुरक्षाका लागि सेना खटिएको हुन्छ। अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै घुम्ती टोली पनि पुगेको हुनसक्छ, तर सेना परिचालनको कुनै विशेष निर्णय भएको छैन।”
यसअघि जनमत पार्टीभित्रै विभाजन देखिँदै आएको थियो। जनमतका १३ मध्ये केही सांसद कांग्रेस–एमाले गठबन्धनतिर, र केही लोसपा–जनमत गठबन्धनतिर लागेपछि विवाद थप चर्किएको हो।
यसबीच, निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ले जनस्वराज पार्टीमा सनाखत गरेका छन्। उनीहरू जनकपुरस्थित निर्वाचन कार्यालय पुग्दा जनमतका कार्यकर्ताले अवरोध गर्दा झडप भएको थियो।
प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार, अहिले दुवै पक्षबीच छलफल जारी छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनमतका सांसदहरूलाई भौतिक रूपमा उपस्थित गराई कुन पक्षमा समर्थन गर्ने हो भन्ने स्पष्ट पार्ने तयारी गरिरहेकी छन्।



कागजपत्र |
