कांग्रेसद्वारा सांसद विश्वकर्माको उपचार सहयोगका लागि आग्रह
काठमाडौं – नेपाली कांग्रेसले कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहेका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ । सांसद विश्वकर्मा कोरोना भाइरस संक्रमणका कारण अस्वस्थ भई कात्तिक ९ गतेदेखि (वीर र त्यसपछि ग्राण्डी अस्पताल) अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत उनको स्वास्थ्यावस्थाबारे जानकारी गराउनाका साथै स्वास्थ्योपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन आग्रह गरे ।
नेता खाणले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई समेत सांसद विश्वकर्माको स्वास्थ्योपचारका लागि आवश्यक पर्ने सहयोगका लागि अनुरोध गरेको कांग्रेस संसदीय दलले जनाएको छ । सांसद विश्वकर्मामा निमोनिया देखिएको छ ।
श्वासप्रश्वासमा समस्या आएको हुँदा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको संसदीय दलले जनाएको छ ।