
जेन–जी आन्दोलनपछि प्रहरीका ८ सयभन्दा बढी हतियार अझै लापता
काठमाडौं- जेन–जी आन्दोलनका क्रममा देशभर लुटिएका प्रहरीका करिब ११ सय हतियारमध्ये हालसम्म तीन सयभन्दा बढी मात्र फिर्ता भएका छन्। नेपाल प्रहरीका अनुसार ८ सयभन्दा बढी हतियार अझै बेपत्ता छन् र खोजीका लागि विशेष समिति गठन गरिएको छ।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आन्दोलनकारीले प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्दै हतियार लुटेका थिए। ती दृश्य भिडियो र तस्बिरहरूमा समेत कैद भएका थिए।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार हतियार खोज्ने काम तीव्र रूपमा भइरहेको भए पनि ठूलो संख्यामा हतियार अझै फेला परेको छैनन्। लुटिएका केही हतियार सेनाले र केही प्रहरीले बरामद गरिसकेका छन्, तर अझै ठूलो भाग हराइरहेको छ।
ती घटनामा तीन प्रहरीको ज्यान गएको थियो भने केहीले आत्मसमर्पण गरेर ज्यान जोगाएका थिए। हतियार हराइरहँदा सुरक्षाकर्मीहरू हतियारविहिन अवस्थामा पनि ड्युटीमा खटिनुपरेको बताइन्छ।



कागजपत्र |
