
विराटनगरमा देवरद्वारा भाउजूमाथि तेजाब प्रहार
विराटनगर- मोरङको विराटनगर महानगरपालिका–९ धोवियारीमा आफ्नै देवरले तेजाब प्रहार गर्दा २९ वर्षीया रागिनी साह घाइते भएकी छन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार सोमबार बिहान करिब १०:१५ बजे घरायसी विवादकै क्रममा २२ वर्षीय श्रवण साहले भाउजू रागिनीमाथि तेजाब प्रहार गरेका हुन्। घटनापछि श्रवण फरार भएका छन्।
तेजाब प्रहारबाट रागिनीको अनुहारमा चोट लागेको छ। तर, उनका आँखा भने जोगिएका छन्। उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। चिकित्सकहरूले उनको अवस्था खतरामुक्त रहेको बताएका छन्।
अनुसन्धानका क्रममा यो आक्रमण घरायसी लेनदेनसम्बन्धी विवादका कारण भएको खुलेको प्रहरीले जनाएको छ। फरार रहेका श्रवणको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ। उनी भारततर्फ भागेको हुनसक्ने आशंका गरिएको छ।



कागजपत्र |
