
सर्विया–रोमानिया पठाउने बहानामा ठगी, काठमाडौंमा दुई दलाल पक्राउ
काठमाडाैं- वैदेशिक रोजगारीका नाममा सर्विया र रोमानिया पठाइदिन्छु भन्दै रकम असुली गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका मध्ये भक्तपुर नगरपालिका–१० बस्ने ३५ वर्षीय सरोज सुवालले सर्विया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ३ लाख रुपैयाँ लिएको र सम्पर्कविहीन बनेको खुलेको छ। यस्तै, काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ बस्ने, रौतहट चन्द्रपुर नगरपालिका–२ घर भएकी २७ वर्षीया सिर्जना कार्कीले रोमानिया पठाइदिन्छु भन्दै अर्को एक जना पीडितबाट ४ लाख रुपैयाँ लिएको र पछि सम्पर्क टुटाएको प्रहरीको भनाइ छ।
पीडितहरूले दिएको जाहेरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले सुवाललाई ललितपुर महानगरपालिका–२ बाट र कार्कीलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
हाल उनीहरूलाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
