सुप्रिम सहकारी ठगी प्रकरण : ११ भदौका लागि तोकियो रवि लामिछानेको पेसी


काठमाडाैं- सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्च अदालत बुटवलमा सोमबार निवेदन दर्ता गरेका छन्।

लामिछानेले आफूले तोकिएको भागको बिगो रकम दाखिला गरिसकेको दाबी गर्दै जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेपछि उच्च अदालतमा पुनः निवेदन दर्ता गरेका हुन्।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछानेको निवेदनको पेसी आगामी बुधबार (भदौ ११) मा तोकिएको छ।

यसअघि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेको निवेदन खारेज गर्दै रिहा नगर्ने आदेश दिएको थियो। अदालतले उनलाई अझै कति बिगो कायम हुने भन्ने निश्चित नभएको कारण देखाएको थियो।

सुप्रिम सहकारी प्रकरणमा रविसहितका अन्य प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर भएको छ। लामिछानेले त्यसको चौथाइ हिस्सा बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसहित पेस गरेका थिए।

हाल उनी ललितपुरको नख्खु कारागारमा रहेका छन्।

प्रतिक्रिया