ग्याङ फाइट भइरहने कैलाली कारागारको नयाँ जेलरमा प्रकाश ढुंगाना


कैलाली- हालै भएको हिंसात्मक घटनापछि कैलाली कारागारमा नयाँ जेलरको रूपमा प्रकाश ढुंगानालाई नियुक्त गरिएको छ। कारागार व्यवस्था विभागले नेपालगन्जका जेलर रहेका ढुंगानालाई कैलाली पठाएको हो।

गत शुक्रबार राति कैदीबन्दीबीच भएको भीषण झडपपछि काजमा पठाइएका जालन्धर भुसालको एक साताको काज अवधि सकिएर उनी विदामा गएपछि ढुंगानालाई स्थायी रूपमा जिम्मेवारी दिइएको हो।

कैलाली कारागारका नायब सुब्बा ज्ञानेन्द्र ओझाले ढुंगाना शनिबार कारागार आइपुगेको जानकारी दिए। गत शुक्रबार मध्यरात ब्लक ‘ए’ का कैदीबन्दीले भित्तामार्फत ‘बी’ ब्लकमा प्रवेश गरी अन्धाधुन्ध आक्रमण गर्दा धनगढी उपमहानगरपालिका–४ का लागुऔषध मुद्दामा सजाय काटिरहेका भरत चौधरीको मृत्यु भएको थियो। सो घटनामा ४८ जना कैदी घाइते भएका थिए।

घाइतेमध्ये गम्भीर तीन जनाको काठमाडौंमा उपचार भइरहेको छ। सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्पतालमा उपचाररत ४५ मध्ये ३४ जना डिस्चार्ज भए पनि घटनापछि तुरुन्तै कारागार फर्काउँदा झडप दोहोरिन सक्ने आशंकामा अस्पतालमै राखिएको नायब सुब्बा ओझाले बताए।

डिस्चार्ज भएकामध्ये चार जनालाई कञ्चनपुर कारागार र एक जनालाई नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ।

 

प्रतिक्रिया