
कैलालीमा १० महिनाकी छाेरीसहित आमा झुन्डिएको अवस्थामा फेला
कैलाली- बिहीबारदेखि बेपत्ता भएकी एक महिला आफ्नी १० महिनाकी छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी छोरी अनुजा चौधरी शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार आमा–छोरी दुबै जना घरनजिकै रहेको गौरीशंकर सामुदायिक वनभित्र एउटै रूखमा फरक–फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।
आरती साउन २९ गतेदेखि छोरीसहित बेपत्ता भएकी थिइन्। खोजतलासका क्रममा शनिबार उनीहरूको शव भेटिएको हो। परिवारले बेपत्ता भएको दिनमै प्रहरीमा निवेदन दिएका थिए।
दुवै जनाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
आरती श्रीमान, सासू र देवरदेउरानीसँगै घरमा बस्दै आएकी थिइन्।



कागजपत्र |
