
मःममा औँठी भेटिएपछि धरहरा टपरीलाई २ लाख जरिवाना
काठमाडौं- धरहरा टपरी मःममा धातुको औँठी भेटिएपछि काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना तोकेको छ।
महानगरको नियमित अनुगमनका क्रममा धरहरा टपरी मःमले बिक्री–वितरणका लागि तयार गरेको मःममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुसार नरहेको पाइएको थियो। यसलाई ध्यानमा राख्दै महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकेको हो।
महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी मःमले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको छ।
व्यवसायीलाई ७ दिनभित्र बैंकमार्फत जरिवाना रकम बुझाएर महानगरको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड अनुसार उत्पादन र बिक्री–वितरण व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।



कागजपत्र |
