
पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै लाखौं ठग्ने दुई जना भक्तपुरबाट पक्राउ
काठमाडाैं- आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै पोर्चुगल र हंगेरी पठाइदिन्छु भनेर ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–१२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बस्ने ४१ वर्षीय राम बहादुर थिङ र रामेछाप नगरपालिका–३ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ बस्ने ३७ वर्षीय चन्द्र बहादुर सुवेदी छन्।
राम बहादुरले पोर्चुगल पठाइदिने भन्दै ६ जना पीडितसँग जम्मा २९ लाख रुपैयाँ असुलेका थिए भने चन्द्र बहादुरले हंगेरी पठाइदिने भन्दै १ जना पीडितसँग २ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मध्यपुर थिमी नगरपालिका–३ बाट राम बहादुरलाई मंगलबार र चन्द्र बहादुरलाई बुधबार पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
