
गरिबका छोराछोरीलाई डाक्टर र नर्स बनाउँछु, सेवा सुविधा लिन्न: मुख्यमन्त्री बानियाँ
काठमाडाैं- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफू पद र फोटो टाँस्नकै लागि मुख्यमन्त्री नभएको स्पष्ट पारेका छन्।
नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले आफू पारदर्शी, उत्तरदायी र जनताप्रति प्रतिबद्ध भएर काम गर्न चाहने मुख्यमन्त्री भएको बताए।
‘म पदको लागि, फोटो टाँस्न मुख्यमन्त्री भएको होइन,’ उनले भने, ‘मैले पहिले नै यो सन्देश दिइसकेको छु। अहिलेसम्म अरू मुख्यमन्त्रीले के गरे, त्यो तपाईंहरू आफैँ मूल्यांकन गर्नुहोस्। तर मैले भने पहिलो निर्णयमै प्रदेशका गरिब, विपन्न, सिमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरिया समुदायका छोराछोरीलाई पढाउने निर्णय गरेँ।’
उनका अनुसार प्रदेश सरकारले दुई जना मेडिकल डाक्टर, दुई जना आयुर्वेद डाक्टर र दुई जना पशु चिकित्सक डाक्टर बनाउने व्यवस्था मिलाएको छ। साथै, १० जना गरिब परिवारका छोरीहरूलाई नर्सिङ अध्ययन गराउने निर्णय समेत प्रदेश सरकारले गरिसकेको उनले जानकारी दिए।
मुख्यमन्त्री बानियाँले आफूले पदमा बसेर भोग गर्ने सुविधासमेत नलिने घोषणा गरेका छन्।



कागजपत्र |
