लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका व्यक्ति पक्राउ, किन ?


विराटनगर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा मंगलबार चलाइएको हस्ताक्षर अभियानमा सहभागी हुन आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सुनसरीको वराहक्षेत्र नगरपालिका–७ निवासी ५९ वर्षीय अर्थराज कोइराला हुन्।

सुनसरी जिल्ला अदालतले उनीमाथि बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर गरिसकेको थियो। अदालतले उनलाई दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई क्षतिपूर्तिबापत दुई लाख रुपैयाँ तिर्नुपर्ने फैसला सुनाएको थियो। तर, अदालतको फैसला भएपछि पनि उनी फरार थिए।

प्रहरीका अनुसार कोइरालाले विगतमा आफ्नै घरमा काम गर्ने नाबालिगमाथि यौन दुर्व्यवहार गरेका थिए। घटना सार्वजनिक भएपछि उनी गत वैशाखमा पक्राउ परेका थिए, तर अदालतले उनलाई धरौटीमा छोडेको थियो। गत असार ३२ गते अदालतले उनलाई कसुरदार ठहर गरे पनि उनी समातिएका थिएनन्।

प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार अदालतबाट दोषी ठहर भइसकेका फरार प्रतिवादी कोइरालालाई मंगलबार विराटनगरको महेन्द्रचोकबाट पक्राउ गरिएको हो। उनी लामिछानेको समर्थनमा विराटनगर–३ स्थित रास्वपाको पार्टी कार्यालयमा आयोजित हस्ताक्षर सङ्कलन कार्यक्रममा सहभागी हुन गएका बेला पक्राउ परेका हुन्।

उनी लामो समयदेखि अमेरिकाको टेक्ससमा बस्दै आएका थिए र नेपाली काँग्रेसका केही शीर्ष नेताहरूसँग नजिक रहँदै आएका थिए।

प्रतिक्रिया