
बक्स अफिसमा ‘सैयारा’ को धमाका, ४ दिनमै १०५ करोड क्लबमा प्रवेश
मुम्बई- नयाँ अनुहारलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको बलिउड फिल्म ‘सैयारा’ ले प्रदर्शनको चार दिनमै भारतीय बक्स अफिसमा १०५ करोड ७५ लाख रुपैयाँ कमाउँदै धमाकेदार सुरुआत गरेको छ।
अहान पाण्डे र अनीत पड्डा अभिनित यस रोमान्टिक ड्रामा फिल्मले दर्शक र व्यापार दुबैमा आक्रामक उपस्थिति जनाउँदै फिल्म बजारमा सबैको ध्यान तानेको हो। मोहित सूरी निर्देशित फिल्म ‘सैयारा’ साउन २ गते शुक्रबार प्रदर्शनमा आएको थियो।
चार दिनमै ‘सैयारा’ को उचाइले उद्योगका दिग्गज अभिनेताहरूको सुरुआती व्यापारलाई समेत चुनौती दिएको छ। नयाँ अनुहारले पनि सलमान खान, अक्षय कुमार जस्ता स्टारहरूको ओपनिङ रेकर्ड नाघेको देखिएको छ।
यो फिल्मले पहिलो दिनमै शाहिद कपूर को सुपरहिट फिल्म ‘कबीर सिंह’ को ओपनिङ आम्दानी (२०.२१ करोड) नाघेको थियो। ‘कबीर सिंह’ ले तीन दिनमा ७०.८३ करोड कमाउँदा, ‘सैयारा’ ले चार दिनमै १०५.७५ करोड कमाएर त्यसलाई सहजै पार गरेको छ।
यस उपलब्धिसँगै ‘सैयारा’ २०२५ को सबैभन्दा धेरै कमाइ गर्ने बलिउड फिल्मको सूचीमा सातौं स्थानमा पुगेको छ। यसले अक्षय कुमार–अनन्या पाण्डे अभिनित ‘केसरी च्याप्टर २’ (९२ करोड) र सनी देओल को ‘जाट’ (८८ करोड) लाई पछि पारिसकेको छ। अहिले यसभन्दा माथि केवल सलमान खान को ‘सिकन्दर’ रहेको छ।



कागजपत्र |
