सम्बन्धविच्छेदपछि पहिलोपटक विष्णुको प्रतिक्रिया- बोल्नैपर्ने भयो


काठमाडौं – गायिका एलिना चौहानको पूर्वपति विष्णु सापकोटाले लामो मौनता तोड्दै सामाजिक सञ्जालमार्फत पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिएका छन्। केही महिनाअघि मात्रै विवाहविच्छेद गरेका सापकोटाले पछिल्लो समय आफूमाथि सामाजिक सञ्जालबाट भइरहेको आक्षेप र आरोपप्रति गम्भीर असन्तुष्टि जनाएका हुन्।

एलिनाले पछिल्लो समय विभिन्न अन्तर्वार्ता र सार्वजनिक टिप्पणीमार्फत पूर्वपति विष्णुबाट आफूमाथि भएको हिंसाको विषय उठाउँदै आएकी छन्। त्यसपछि विष्णुलाई लक्षित गर्दै सामाजिक सञ्जाल विशेषगरी टिकटकमा विविध भिडियो र टीकाटिप्पणी आउन थालेपछि उनले लामो पोस्टमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

सापकोटाले लेखेका छन्, ‘केही समयदेखि मेरो व्यक्तिगत जीवनसँग जोडिएका अनावश्यक टिप्पणी र भिडियोहरूले ध्यान तानेपछि केही कुरा स्पष्ट पार्न बाध्य भएँ। मौन बसेको छु भन्ने कमजोरी होइन, न त मलाई बोल्ने ठाउँ छैन।’

उनले विवाहको केही महिनामै सम्बन्धविच्छेद भइसकेपछि आत्म-संयमका लागि मौन बस्ने निर्णय गरेको स्मरण गर्दै भनेका छन्, ‘हिजो माया गरेर घर भित्र्याइएको व्यक्तिको सम्मानका कारण पनि म टुंगिएको सम्बन्धबारे बोल्न चाहन्न। अदालतको निर्णय भइसकेको विषयमा बारम्बार टिप्पणी गर्नु पनि उपयुक्त होइन।’

सापकोटाका अनुसार एलिनासँग सम्बन्धविच्छेद आपसी सहमतिमा भएको थियो र त्यसबारे सार्वजनिक टिप्पणी नगर्ने सहमति पनि थियो। तर पछिल्लो समय सामाजिक सञ्जालमा ती विषयहरू फेरि उठ्न थालेपछि आफूलाई मानसिक दबाब र चरित्र हत्या हुने खालका आक्षेपको सामना गर्नुपरेको उनले उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘म गम्भीर मानसिक तनावमा छु। यस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा बहस गर्नु न नैतिक हो, न मानवीय, न कानुनी। यसले मेरो व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनमा प्रतिकूल असर पारिरहेको छ।’

विष्णु सापकोटाले सामाजिक सञ्जालमा आएका कठोर टिप्पणी, धम्कीपूर्ण सन्देश र भ्रामक गतिविधिका कारण आत्म-सम्मानमा आघात पुगेको भन्दै अष्ट्रेलियामा कानुनी प्रक्रिया अगाडि बढाइसकेको पनि बताएका छन्। उनले व्यक्तिगत मानहानी तथा व्यवसायिक क्षतिका लागि कानुनी क्षतिपूर्तिको माग गर्दै आवश्यक कागजातहरू अघि सारिएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा तीब्र चर्चा भैरहँदा सापकोटाले शुभचिन्तकहरूलाई संयमित र मर्यादित व्यवहार गर्न पनि आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘कृपया कसैप्रति गाली, तिरस्कार वा अमर्यादित व्यवहार नगर्नुहोस्। हामी सबैको आफ्नै पीडा हुन्छ।’

गायिका एलिना चौहान र विष्णु सापकोटा बीच २०८० सालको सुरुवाततिर विवाह भएको थियो तर केही महिनामै उनीहरूको सम्बन्धविच्छेद भएको थियो। सम्बन्धविच्छेदपछि एलिना सक्रिय रूपमा सार्वजनिक स्थानमा आफ्नो अनुभव सुनाउँदै आएकी छन् भने विष्णु भने अहिलेसम्म मौन थिए। तर, पछिल्ला आरोप र टीकाटिप्पणीपछि उनले सार्वजनिक रूपमा पहिलो प्रतिक्रिया दिएका हुन्।

प्रतिक्रिया