दुर्गेशको ‘जाने भए जाम माया’ ३ दिनमै युट्युब म्युजिकको ‘ग्लोबल ट्रेन्डिङ’मा


काठमाडाैं- दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ ले नेपाली संगीत क्षेत्रमा मात्र होइन, अन्तर्राष्ट्रिय युट्युब ट्रेन्डिङमा समेत धमाका पिटेको छ। गीत सार्वजनिक भएको २४ घण्टाभित्रै सबैभन्दा धेरै हेरिने नेपाली गीत बन्दै यसले नयाँ कीर्तिमान राख्यो।

अमेरिकामा युट्युब ट्रेन्डिङमा स्थान बनाउने यो पहिलो नेपाली गीत हो भने, अस्ट्रेलियामा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्ने पहिलो नेपाली गीत बनेको छ।

गीत सार्वजनिक भएको तीन दिनमै ‘जाने भए जाम माया’ ले अर्को ऐतिहासिक सफलता हासिल गरेको छ। ४० लाख भ्यूज पार गर्दै यो गीत युट्युब म्यूजिकको ग्लोबल ट्रेन्डिङ सूचीमा यति छिटो प्रवेश गर्ने पहिलो नेपाली गीत बन्यो।

हालसम्म यो गीत ‘ग्लोबल डेली टप म्युजिक भिडियो’ सूचीको १०औं स्थानमा रहेको छ। शनिबार दिउँसो सूची अद्यावधिक भएको थियो। यो उपलब्धिप्रति खुसी व्यक्त गर्दै गायक दुर्गेश थापाले सामाजिक सञ्जालमार्फत दर्शक तथा प्रशंसकलाई धन्यवाद दिएका छन्।

यसअघि युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङ सूचीमा नेपाली गीतहरू समावेश हुन साताौं लाग्थ्यो। तर दुर्गेशको यसअघि सार्वजनिक भएको ‘दुश्मन हेरेको हेर्‍यै’ ले पनि युट्युब म्युजिक र ‘टप हन्ड्रेड म्युजिक भिडियोज ग्लोबल’ दुवै सूचीमा स्थान बनाइसकेको छ। यद्यपि ‘जाने भए जाम माया’ शनिबार साँझसम्म ‘टप हन्ड्रेड म्युजिक भिडियोज ग्लोबल’ सूचीमा भने प्रवेश गरिसकेको थिएन।

युट्युब म्युजिकले पछिल्लो २४ घण्टामा विश्वभर धेरै पटक हेर्ने गीतलाई ट्रेन्डिङ सूचीमा समावेश गर्छ। भ्यूज, दर्शक सहभागिता र पर्फमेन्सको आधारमा यस्तो सूची अद्यावधिक गरिन्छ।

साप्ताहिक रूपमा अपडेट हुने ‘टप हन्ड्रेड म्युजिक भिडियोज ग्लोबल’ सूचीमा दीर्घकालीन लोकप्रियता तथा भ्यूजका आधारमा गीतहरू समेटिन्छन्।

यससाथै, दुर्गेश थापा युट्युब म्युजिकको ग्लोबल लिस्टमा दुई पटक स्थान बनाउने पहिलो नेपाली संगीतकर्मी बनेका छन्। यसअघि सुशान्त केसी, एकदेव लिम्बु, एसडी योगी र बाबुकृष्ण परियारको ‘कश्मिरे पछ्यौरी’ एक-एकपटकमात्रै सूचीमा परेका थिए।

प्रतिक्रिया