
त्रिभुवन विमानस्थलमा कोकिनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक ३ किलो ४०० ग्राम कोकिनसहित पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विमानस्थलमा खटिएको क्रममा भारतको मुम्बई, महाराष्ट्र निवासी ४९ वर्षीय अब्दुस समद जमल मन्सुरीलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।
ब्युरोका एसपी जनकबहादुर शाहीका अनुसार, टोलीले यात्रुहरूको क्रिमिनल प्रोफाइलिङ गर्ने क्रममा मन्सुरीलाई शंकास्पद ठानी निगरानीमा राखेको थियो।
बुधबार अपराह्न ४ बजेतिर कतार एयरवेजको उडानबाट अजरबैजान हुँदै काठमाडौं आएका मन्सुरीलाई विमानस्थलको पार्किङ क्षेत्रमा फेला पारिएको थियो। जाँच गर्दा उनको झोलाभित्र ३.४ किलो कोकिन बरामद गरिएको हो।
अब्दुस समदमाथि हाल लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ।



कागजपत्र |
