
जसपा मधेस इञ्चार्ज यादवले एसपी खड्कालाई ‘मधेश लुट्न आएकाे’ भनेपछि…
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोक यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबीचको टेलिफोन संवाद सार्वजनिक भएपछि विवाद चुलिएको छ। अडियोमा नेता यादवले एसपी खड्कालाई “मधेश लुट्न आएकाे” भन्दै गालीगलौज गर्दै गम्भीर आरोप लगाएको सुनिन्छ।
पूर्वाधार कार्यालय र कर्मचारीहरूमा हुने भ्रष्टाचारका विषयमा भएको संवादमा नेता यादवले प्रहरी प्रशासन नै गैरकानुनी काममा संलग्न रहेको आरोप लगाएका छन्। अडियोमा उनले एसपीलाई “लुटेराहरू” भन्दै आक्रोश व्यक्त गरेपछि एसपीले “अलिक बुझेर बोल्नुस्” भन्दै प्रतिवाद गरेका छन्।
विवादित अडियो सार्वजनिक भएपछि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए।
उता, सर्लाहीका डीएसपी सरोज राईका अनुसार, सोमबार राति करिब ११ बजे प्रहरी टोली यादवलाई नियन्त्रणमा लिन उनकाे घर पुग्दा गाउँलेहरूको हुल हुज्जतका कारण टोली फर्कन बाध्य भएको थियो। त्यसक्रममा प्रहरी गाडीमा तोडफोड भएको पनि डीएसपी राईले बताए।
डीएसपी राईले यादवविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको र पक्राउका लागि खोजी भइरहेको बताए।
तर, नेता यादवले आफू जनकपुरमै रहेको दाबी गर्दै प्रहरी प्रशासनले राजनीतिक दवावमा आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाएका छन्।
नेता यादवले सर्लाहीका सरकारी कार्यालयहरूमा प्रहरीको संरक्षणमा भ्रष्टाचार र कमिसनको खेल भइरहेको दाबी गर्दै आएका छन्। उनले केही कर्मचारीले रौतहट बसेर कमिसनको काम गरिरहेको र रातिमा सर्लाहीमा आएर अफिस बन्द गरेर अवैध काम गर्दै आएको आरोप पनि लगाएका छन्।



कागजपत्र |
