
भ्रष्टाचार गरेको प्रमाण आए जुनसुकै बलिदान दिन तयार छु : अध्यक्ष माधव नेपाल
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूविरुद्ध भ्रष्टाचारको कुनै प्रमाण भए जुनसुकै बलिदान दिन तयार रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पार्टीको विद्यार्थी जिल्ला कमिटीको पाँचौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि लागेका आरोपहरू निराधार भएको दाबी गरे।
“मेरा बारेमा नकारात्मक टिप्पणी गर्नेहरू छन्, तर मेरो स्पष्ट मान्यता छ – नबिराउनु, नडराउनु,” उनले भने, “यदि यो धर्तीको एक जना मान्छेले पनि म भ्रष्टाचारी भएको प्रमाण देखाओस्, म जुनसुकै बलिदान गर्न तयार छु।”
उनले अनुशासन, विधि र प्रक्रियाको पालना गर्दै सबैलाई समेटेर अघि बढ्ने आफ्नो धारणा दोहोर्याए।
“म कहिल्यै अनुचित कुराको पक्षमा रहन्न, बदलाको भावना राख्दिन,” अध्यक्ष नेपालले भने, “व्यक्तिवाद र कुभलो सोच पराजित गर्दै अघि बढ्न जरुरी छ। जीवनमा चुनौती आइरहन्छन्, ती चुनौती सामना गर्ने साहस चाहिन्छ।”



कागजपत्र |
