
भेटेरिनरी अस्पतालको भवन निर्माण प्रक्रियामा अनियमितता, डा. झासहित चार जनाविरुद्ध मुद्दा
सप्तरी- सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालीन प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासहित तीन जना व्यक्तित्व र एक कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बुधवार विशेष अदालत काठमाडौंमा आयोगले आरोपपत्र दायर गरेको हो। मुद्दामा डा. झासँगै त्यही केन्द्रका तत्कालीन सहलेखापाल अनिल लिम्बु, मोदाक एड्भर्टाइजिङ प्रालिका सञ्चालक कौशलराज सिंह र कम्पनीलाई प्रतिवादी बनाइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
अनुसन्धान अनुसार, केन्द्रले भवन निर्माणका लागि आह्वान गरिएको बोलपत्र सार्वजनिक खरिद ऐन, २०६३ को प्रावधानविपरीत सूचनाको प्रकाशन नगरी गोप्य रूपमा प्रक्रियामा अगाडि बढाएको पाइएको छ। सौर्य राष्ट्रिय दैनिक पत्रिकामा मात्र सूचना छापिएको देखाइएको भए पनि प्रेस काउन्सिल नेपालले सो सूचनाको कुनै अभिलेख नरहेको पुष्टि गरेपछि मुद्दा अगाडि बढाइएको हो।
यसरी सूचना छिपाएर, झुट्टा बिल बनाएर र मिलेमतोमा १ लाख २९ हजार ६६७ रूपैयाँ अनियमित भुक्तानी दिइएको पुष्टि भएको आयोगको भनाइ छ।
आयोगले सबै प्रतिवादीलाई उक्त रकम बराबरको बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।



कागजपत्र |
