


सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर सम्पर्कविहीन भए डाक्टर श्रेष्ठ

काठमाडौं- रामेछाप जिल्ला अस्पतालका पूर्व निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ सामाजिक सञ्जालमा “अलविदा” लेख्दै सम्पर्कविहीन भएका छन्। फेसबुकमा मार्मिक स्टाटस लेख्दै उनले आफूलाई झुटा आरोप लगाएर अन्यायपूर्वक सरुवा गरिएको र चरम मानसिक पीडा खेप्नु परेको उल्लेख गरेका छन्। अहिले उनलाई खोज्न प्रहरीको टोली सक्रिय भएको छ।
सोमबार दिउँसो उनले फेसबुकमा लेखेको स्टाटस अनुसार, करिब २५ महिना सेवा दिँदै आएका उनले १८ महिना अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेका थिए। अस्पताल सुधारका लागि निरन्तर खटिए पनि राजनीतिक हस्तक्षेप, कर्मचारीहरूबाटको अवरोध र व्यक्तिगत स्वार्थबाट गरिएको दवाबका कारण आफू निराश भएको उल्लेख गरेका छन्।
डा. श्रेष्ठले आरोप लगाएका छन् कि रामेछाप–८ का पूर्व वडा अध्यक्ष केदार कार्कीको अवैध माग अस्वीकार गरेपछि उनीविरुद्ध षड्यन्त्रपूर्वक झुटा आरोप लगाउँदै स्वास्थ्य मन्त्रालयमार्फत सरुवा गरिएको हो। ‘केदार कार्कीको भनाइ नमानेको, मागिएको रकम नदिएको र मनपरी ढंगले जागिर दिलाउन नमान्दा मलाई विभिन्न आरोप लगाई सरुवा गरियो,’ फेसबुक स्टाटसमा उनले लेखेका छन्।
उनको आरोप अनुसार, मन्त्रालयबाट हेटौंडा अस्पतालमा सरुवा गरिएको भए पनि हाजिर भने मन्त्रालयमै गराइयो। स्वास्थ्य मन्त्रालयका केही अधिकारी तथा स्थानीय नेताको चलखेलमा आफू अन्यायमा परेको उनले गुनासो गरेका छन्। ‘मलाई धेरै पीडा दिइयो, अब यो पीडा सहन सक्दिनँ,’ उनले लेखेका छन्।
सामाजिक सञ्जालमा डा. श्रेष्ठले यो स्टाटस लेखेको करिब दुई घण्टापछि मोबाइल अफ रहेको र उनको लोकेसन काठमाडौंको चावहिलमा देखिएको प्रहरी स्रोतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछाप र काठमाडौं प्रहरी परिसरले उनलाई खोज्न खोजी कार्य सुरु गरेको जानकारी दिएको छ।
साइबर ब्युरो प्रमुख डीआईजी नविन्द अर्यालका अनुसार सूचना प्राप्त भएपछि टेक्निकल टिममार्फत लोकेसन ट्र्याक गर्दै खोजी अघि बढाइएको छ। ‘हामीले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै खोजी सुरु गरेका छौँ,’ उनले बताए।
फेसबुकमा सार्वजनिक रूपमा लेखिएको गुनासो र विदाई सन्देशले सामाजिक सञ्जालमा चासोको विषय बनेको छ। चिकित्सक संघ, स्वास्थ्यकर्मीहरू, साथै उनका सहकर्मीहरूले डा. श्रेष्ठको सकुशल अवस्थाबारे चाँडै जानकारी मिलोस् भन्दै चिन्ता व्यक्त गरेका छन्।
यस प्रकरणले सरकारी सेवा, स्वास्थ्य क्षेत्रभित्रको राजनीति र कर्मचारीमाथि हुने दवाब तथा अन्यायप्रति गम्भीर प्रश्न उठाएको छ। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

