


अनुसन्धान प्रहरी र सरकारी वकिलबिच समन्वय जरुरी छ : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच ठिक ढंगको समन्वय हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार बिहान प्रहरी प्रधान कार्यालयमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले दुई पक्षबीच निरन्तर समन्वय हुन जरुरी रहेको बताए ।
समिति स्रोत र साधनमा धेरै काम प्रहरीले गर्नुपरेको उनको भनाइ छ । ‘सबैभन्दा बढी कामको जिम्मेवारी लिएका सुरक्षा निकायहरू समिति र स्रोत र साधनमा काम गर्नु परेको छ,’उनले भने,’सरकारले प्रयाप्त ध्यान दिँदैछ,दिन्छ ।’
उनले आगामी आर्थिक वर्षको बजेटमा तुलनात्मक रुपमा बजेटमा प्रहरीतर्फ उल्लेखनीय वृद्धि भएको जानकारी समेत दिए । मन्त्री लेखकले विज्ञानको प्रयोग मानवताका विरुद्ध भइरहेको बताए । ‘अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ । त्यसो भएकाले हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ । विज्ञानको प्रयोग भनेको प्रविधिका मार्फत गर्ने हो ।’
लेखकले विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ्य, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको बताए। ‘अभियोजनको क्रममा पनि विज्ञानको प्रविधिको प्रयोग आवश्यक छ । विज्ञानको प्रयोगले मात्रै पुग्दैन् । विज्ञानको सही प्रयोग हुनजरुरी छ । प्रविधि र विज्ञानको प्रयोग पनि न्यायलाई सहयोग गर्ने गरेर हुनुपर्छ,’ उनले भने,’विज्ञान र प्रविधिको प्रयोग गर्दा पनि प्रमाण संकलन होसियारका साथ गर्नुपर्ने हुन्छ ।’
फौजदारी न्यायमा अनुसन्धान र अभियोजन महत्वपूर्ण आयाम हुने मन्त्री लेखकको भनाइ छ । ‘फौजदारी न्यायको केन्द्रमा पीडित रहन्छ । पीडितलाई हामीले न्यायको अनुभूति गराउन सक्यौंकी सकेनौं ? कुनै पनि अपराधिक कार्यबाट आफूलाई पीडित अनुभूति गरेको मानिसलाई न्याय प्राप्त भयो भन्ने कुराको अनुभूति गर्न सक्यौ की सकेनौं,’मन्त्री लेखकले भने,’त्यो फौजदारीको न्यायको मुख्य उद्देश्य हो।यो क्षेत्रमाअत्यन्त मेहनत र क्रियाशिलताका साथ,अत्यन्त वुद्धि र विवेक प्रयोग गरेर काम गर्न जरुरी छ ।’

