
काठमाडौंमा अनलाइन सट्टेबाजी धन्दा, पाँच भारतीयसहित १७ जना पक्राउ
काठमाडौं— ललितपुरको नख्खु र धापाखेल क्षेत्रलाई आधार बनाएर अनलाइन सट्टेबाजी (बेटिङ) सञ्चालन गर्ने गिरोहका १७ जना पक्राउ परेका छन्। पाँच भारतीय नागरिकसहित पक्राउ परेकाहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, उनीहरूले सनराइज अपार्टमेन्टको एक फ्ल्याट र धापाखेलस्थित एक घर भाडामा लिएर लामो समयदेखि अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेका थिए। पछिल्ला पाँच महिनादेखि उक्त स्थानहरूबाट सट्टेबाजी सञ्चालन भइरहेको अनुसन्धानबाट खुलेको हो।
अनुसन्धानमा संलग्न एसपी काजीकुमार आचार्यका अनुसार, सट्टेबाजी सञ्चालनको मूल नेतृत्व भारतीय नागरिकको रहेको छ। पक्राउ परेका १२ जना नेपालीमध्ये अधिकांश अछामका हुन्, जसले अघिल्लो केही समयअघि दुबईमा भिजिट भिसामा गएर अलपत्र परेका थिए। त्यसपछि उनीहरूलाई मासिक तलब दिएर अनलाइन सट्टेबाजीको काममा लगाइएको प्रहरीको भनाइ छ।
प्रहरी अनुसन्धानले सट्टेबाजीमार्फत करीब ८० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको देखिएको छ। सो रकम भारतीय बैंक खाताहरूमा ट्रान्सफर गरिँदै आएको पाइएको छ। उनीहरूले सेभेन बेट (7Bet), ३६५ बेट (365Bet) लगायतका वेबसाइट प्रयोग गरेर सट्टेबाजी सञ्चालन गर्दै आएका थिए।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।



कागजपत्र |
