उपरथी दीपककुमार बानियाँ अनिवार्य अवकाशमा, पदावधि थप भएन


काठमाडौं- नेपाली सेनाका उपरथी दीपककुमार बानियाँ अनिवार्य अवकाशमा जाने भएका छन्। बानियाँको पदावधि यही जेठ २३ गते समाप्त हुँदैछ र प्रधानसेनापति अशोकराज सिग्देलले पदावधि थपका लागि सिफारिस नगरेपछि उनी अनिवार्य अवकाशमा जान लागेका हुन्।

प्रधानसेनापतिले चाहेको खण्डमा उपरथीको पदावधि दुई वर्षसम्म थप गर्न सकिने व्यवस्था भए पनि बानियाँको म्याद थप नगर्ने निर्णय भएको हो। अवकाशअघि १५ दिन अनिवार्य बिदा बस्नुपर्ने व्यवस्था अनुसार उनी गत बिहीबार (जेठ ८) बाटै बिदामा बसेका छन्।

सैनिक सचिव ध्रुवकुमार कार्कीले सेनाका पृतना र मातहत निकायलाई पत्र पठाउँदै बानियाँको म्याद नथपिने निर्णय र १५ दिन बिदामा बस्नुपर्ने व्यवस्थाबारे जानकारी गराएका छन्। साथै बानियाँले आफू कार्यरत सैनिक संगठन निर्देशनालयको जिम्मेवारी सहायक रथी दिवसराज रेग्मीलाई हस्तान्तरण गरेर बिदामा बसेका हुन्।

यसअघि, २०७५ पुस ३ गते बसेको पीएसओज बैठकले रथीहरूलाई अवकाशको १५ दिनअघि अनिवार्य बिदामा पठाउनुपर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बानियाँको अवकाश प्रक्रिया अघि बढाइएको हो।

बानियाँको पदावधि सकिएपछि अब उपरथी गणेश श्रेष्ठ वा विष्णु रावतमध्ये एकजना रथी पदमा बढुवा हुने सम्भावना रहेको स्रोतले जनाएको छ। त्यसपछि सहायक रथी पूर्ण खत्री, ध्रुव कार्की र विष्णु कार्कीमध्येबाट एकजना उपरथी पदमा उक्लनसक्नेछन्।

प्रतिक्रिया