

भिजिट भिसा काण्ड : अध्यागमनबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुग्यो

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसा दुरुपयोग प्रकरणले झन् गहिरिँदै गएको छ। गृह मन्त्रालयले उक्त घटनामा संलग्न रहेको आशंकामा हालसम्म १५ जना कर्मचारीलाई सरुवा गरेको छ।
सरुवा गरिएकामा सहसचिव तथा प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित ९ जना नायब सुब्बा, १ जना सहायक कम्प्युटर अपरेटर र ५ जना कम्प्युटर अपरेटर छन्। भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनको मोबाइल फोरेन्सिक परीक्षणका लागि पठाइएको छ।
सूचना अनुसार, अध्यागमनमा काम गरिरहेका केही कर्मचारीहरूलाई “सेटिङ” को आधारमा भट्टराईले प्रयोग गर्दै आएको भन्ने उजुरीपछि गृह मन्त्रालयले तिव्र प्रतिक्रिया दिँदै सरुवा प्रक्रिया अघि बढाएको हो।
मन्त्रालय स्रोतका अनुसार सरुवा गरिएका मध्ये केही कर्मचारीहरु अध्यागमन विभाग वा अन्य कार्यालयको दरबन्दीमा रहे पनि त्रिभुवन विमानस्थलमा काजमा कार्यरत थिए।
यस घटनापछि अध्यागमनको आन्तरिक नियमन र जिम्मेवारीप्रति पनि प्रश्न उठ्न थालेको छ। साथै, मन्त्रालयले थप अनुसन्धानको संकेत गर्दै अन्य संलग्न कर्मचारीमाथि कारबाहीको तयारी गरिरहेको बुझिएको छ।

