

कांग्रेस सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं – काठमाडौं कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार थुनछेक बहसपछि सांसद राईलाई धरौटीमा छाड्न आदेश दिएको हो। अदालतका स्रस्तेदार तीर्थराज भट्टराईले राईलाई धरौटीमा रिहा गर्न आदेश दिएको जानकारी दिए।
सांसद राई कुनै समय स्वर्णलक्ष्मी सहकारीको सहसचिवसमेत रहेकी थिइन्। उनी सञ्चालक समितिमा रहँदा झन्डै साढे २ करोड रुपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यतिबेला विना धितो ऋण प्रवाह गरिएको, सूचीकृत नभएका संस्थामा लगानी गरिएको तथा कुल पूँजीको १० प्रतिशतभन्दा बढी रकम लगानी गरिएको पनि भेटिएको छ।
प्रहरीका अनुसार, राईले आर्थिक वर्ष २०७३/७४ मा सञ्चालक समिति सदस्य र २०७४/७५ तथा २०७५/७६ मा सहसचिवको भूमिका निर्वाह गरेकी थिइन्। उनी सञ्चालक समिति सदस्य रहेका बेला ८९ लाख ३४ हजार ३५५ रुपैयाँ अपचलन भएको छ।
सहकारीका २० जना बचतकर्ताले सांसद राईसहित अन्यविरुद्ध जाहेरी दिएका थिए, जसमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ हिनामिना भएको विवरण उल्लेख छ। यसअघि २१ पुसमा ३९ जनाविरुद्ध ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ अपचलन गरेको आरोपसहित मुद्दा दायर गरिएको थियो। तर, त्यसबेला सांसद राईलाई उन्मुक्ति दिइएको थियो, जसको चौतर्फी आलोचना भएपछि १३ वैशाखमा उनलाई प्रहरीले कपनबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार पूरक मुद्दा दायर गरेको हो। प्रहरीले अनुसन्धानको क्रममा माइन्युटमा राईले हस्ताक्षर गरेको फेला पारेको थियो, जुन उनले बयानका क्रममा स्वीकार गरेकी छिन्। उनका अनुसार, हाँडीगाउँमा डेरा गरी बस्ने भुपेन्द्र राईको आग्रहमा आफूले हस्ताक्षर गरेको बताएकी छिन्।
उक्त प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पनि अदालतले ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो।

