

नक्कली इन्जिनियर सुमन खनालमाथि विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी सेवा लिएको आरोपमा राष्ट्रिय आवास कम्पनी लिमिटेडका करार कर्मचारी सुमन खनालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
पुल्चोकस्थित कार्यालयमा ‘इन्जिनियर’का रूपमा काम गरिरहेका खनालले बिई (बैचलर इन इन्जिनियरिङ) र नेपाल इन्जिनियरिङ काउन्सिलको प्रमाणपत्र नक्कली पेश गरेको अख्तियारले जनाएको छ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अनुसार कैद र जरिवानासहितको सजाय माग गर्दै बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र पेश गरिएको हो।
नक्कली प्रमाणपत्र पेस गरेर सरकारी सेवा प्रवेश गर्नु केवल कानुनी अपराध मात्र होइन, जनताको सेवा तथा सुरक्षामा गम्भीर प्रश्न उठाउने विषयसमेत भएको अख्तियारले जनाएको छ।

