

फेसबुक पेजमार्फत ‘सस्तो सामान’काे प्रलोभन: २ करोडभन्दा बढी ठग्ने गिरोहकाे भण्डाफोर

जनकपुर – फेसबुक र अन्य सामाजिक सञ्जाल प्रयोग गरेर सस्तो सामानको लोभ देखाई ठगी गर्दै आएका एक गिरोहका सात सदस्यलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ।
धनुषा प्रहरी प्रमुख एसपी नरहरि रेग्मीका अनुसार उनीहरूले विभिन्न बैंक, वालेट, र वित्तीय संस्थाहरूमा १८७ वटा खाता खोली २ करोड ६३ लाख ९ हजार ३१२ रुपैयाँ ठगी गरेका थिए।
पक्राउ पर्नेहरू सबै १९ देखि २३ वर्ष उमेरका छन्, जसमा धनुषा, सर्लाही र महोत्तरीका युवाहरू छन्। उनीहरूले फेसबुक पेज र फेक एकाउन्ट बनाएर ग्राहकलाई सस्तो मूल्यमा सामान दिने भन्दै अग्रिम पैसा लिने र त्यसपछि सम्पर्क विच्छेद गर्ने गर्थे।
प्रहरीले उनीहरूको साथबाट १० वटा मोबाइल बरामद गरेको छ, जसबाट फेक खाताहरू सञ्चालन गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा २१ वटा फेक एकाउन्ट र पेजको पत्ता लागेको छ।
साइबर अपराधमार्फत लाखौं आम्दानी गर्ने यस्तो गिरोहले सर्वसाधारणलाई प्रविधिको नाममा झुक्याउँदै आएको खुलेपछि प्रहरी अब थप अनुसन्धानमा जुटेको छ।

