सीमा अपराधदेखि विपद् व्यवस्थापनसम्म सक्रिय हुन प्रहरी प्रमुखको निर्देशन


काठमाडौं— नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्न, अपराध अनुसन्धान तथा नियन्त्रणमा भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन्।

मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा हालै सरुवा भई विभिन्न कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई निर्देशन दिँदै थापाले संगठनको नीति र आवश्यकता अनुसार जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

“नागरिकलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन नवीन ढंगले जिम्मेवारी सम्हाल्नुपर्छ,” उनले भने, “व्यक्तिगत स्वार्थभन्दा सांगठनिक हितलाई प्राथमिकता दिनुपर्छ।”

थापाले प्रहरी संगठनको आन्तरिक सुदृढीकरण र शुद्धीकरणमा जोड दिँदै मातहतका प्रहरी कर्मचारीलाई अनुशासित, उत्प्रेरित र नागरिक सेवामा केन्द्रित बनाउन निर्देशन दिए।

उनले सीमा क्षेत्रमा हुने अपराध, राजस्व चुहावट नियन्त्रण तथा विपद् व्यवस्थापनमा स्थानीय तह र सरोकारवालासँग समन्वय गर्नुपर्ने बताए। महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत र पिछडिएका समुदायको सुरक्षालाई विशेष प्राथमिकता दिन पनि थापाले निर्देशन दिए।

यसअघि कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीले पनि सरुवा भएका डीआईजीहरूलाई समसामयिक चुनौती र जिम्मेवारीबारे जानकारी दिएका थिए।

आईजीपी थापाले उत्कृष्ट कार्य सफलताको शुभकामना दिंदै सबै प्रहरी अधिकृतहरूलाई व्यावसायिक ढंगले कार्य सम्पादन गर्न आग्रह गरे।

प्रतिक्रिया