

कैलालीमा ८ लाख ९६ हजार नेपाली र ५ लाख ३१ हजार भारतीय मुद्रासहित २ जना पक्राउ

कैलाली — कैलालीमा प्रहरीले स्रोत नखुलेको ८ लाख ९६ हजार ६६० नेपाली रुपैयाँ र ५ लाख ३१ हजार ४ सय भारतीय मुद्रा सहित २ जनालाई पक्राउ गरेको छ।
मंगलबार, भजनी नगरपालिका – ५ गुलरीयाघाट भन्सार कार्यालय नजिकै इलाका प्रहरी कार्यालय पृथ्वीपुर कैलालीबाट खटिएको टोलीले भारत उत्तर प्रदेश लखिमपुर खिरी तिकुनियाका ३२ वर्षीय अमन कुमार गर्गको साथबाट उक्त रकम बरामद गरेको हो। प्रहरीले गर्गको चलाइरहेको भारतीय मोटरसाइकल (युपी ३२ एचएच ६७५३) चेकजाँच गर्दा सुर्के थैलीमा कम्मरमा बाँधेर राखिएको नेपाली रुपैयाँ बरामद भएको जानकारी दिएको छ।
गर्गलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिएर भन्सार कार्यालय सत्ती पठाइएको छ।
त्यस्तै, टीकापुर नगरपालिका – १ का १९ वर्षीय अर्मन चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ। चौधरीलाई प्रहरीले उनको पसल “अर्मन धागा एन्ड टेलरिङ सप्लायर्स”बाट ५ लाख ३१ हजार ४ सय भारतीय मुद्रा सहित पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

