
डडेल्धुरामा वडाअध्यक्ष कुटिए, प्रहरीमा दुवै पक्षको उजुरी
डडेल्धुरा- डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका-६ का वडाध्यक्ष केबी ताम्राकार कुटपिटमा परेका छन् ।
उनीमाथि बिहीबार साँझ वडानम्बर ७ को पोखराबाट घर फर्किने क्रममा भजनपुरस्थित वडाकार्यालय नजिकै सुरेश खड्काका छोरा सन्देश खड्काले कुटपिट गरिएकाे भनिएकाे छ ।
कुटपिटबाट घाइते वडाध्यक्ष ताम्राकारको डडेल्धुरा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनाप्रति अमरगढी नगरपालिकाले पनि विज्ञप्ति जारी गर्दै घोर भर्त्सना र दुःख व्यक्त गरेको छ । “नागरिकको सेवामा अहोरात्र खटिएको जनप्रतिनिधिलाई गुण्डागर्दी शैलीमा कुटपिट गर्नु कानूनी राज्यको उपहास हो,” विज्ञप्तिमा भनिएको छ । दोषीलाई चाँडै पक्राउ गरी कारबाही अगाडि बढाउन नगरपालिका परिवारले माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुवै पक्षले उजुरी दिएका छन् । घटनाबारे प्रहरीलाई ढिलो जानकारी गराइएको हुँदा प्रारम्भिक अनुसन्धानको काम भइरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाउन केही कठिनाइ भएको बताइएको छ।
त्यसैगरी, पीडक भनिएको पक्षले भने वडाध्यक्ष आफैँ मादक पदार्थ सेवन गरी गालीगलौज गरेपछि कुटपिट गरिएको दाबी गरेका छन्। उनीहरुले वडाध्यक्षले गाली गरेपछि आफूहरुले प्रहरीमा खबर गरेको समेत बताएका छन्।
हाल आरोपी भनिएका सन्देश खड्का फरार रहेका छन् भने प्रहरीद्वारा खोजी कार्य जारी छ।



कागजपत्र |
