दाइजोमा सिक्री नपाउँदा बिहे नै रद्द गर्ने बेहुलासहित ५ जनालाई ६ महिना कैद


पर्सा— पर्सा जिल्ला अदालतले विवाह समारोहकै मण्डपमा दाइजोको नाममा सुनको सिक्री मागेर विवाह भाँड्ने बेहुला पक्षलाई कैद, जरिवाना र दाइजो रकम फिर्ता गर्न आदेश दिएको छ । यो फैसला दाइजोका कारण हुने सामाजिक अन्यायविरुद्ध कानुनी कठोरता अपनाइएको संकेतका रूपमा हेरिएको छ ।

२०७९ फागुन २८ गते वीरगञ्ज महानगरपालिका–२४ स्थित रमिता कुमारी साहको विवाहमा बेहुला उमेश साह र उनका परिवारले मण्डपमै सुनको सिक्री माग्दै झगडा सुरु गरेपछि विवाह रोकिन पुगेको थियो । सो घटनालाई लिएर बेहुली पक्षले भोलिपल्टै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

अदालतका न्यायाधीश मोहन सुबेदीको एकल इजलासले कलैया उपमहानगरपालिका–४ निवासी २८ वर्षीय उमेश साह, उनका बुवा बच्चालाल साह, दाजु राकेश र मुकेश साह तथा भिनाजु रामएकबाल साहलाई “विवाह सम्बन्धी कसूर” अन्तर्गत दोषी ठहर गर्दै प्रत्येकलाई ६–६ महिनाको कैद र जनही ५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

साथै, अदालतले दाइजोको रूपमा लिएको ५ लाख ६५ हजार रुपैयाँ बेहुली पक्षलाई फिर्ता गर्न आदेश दिएको छ । यो फैसला दाइजो प्रथाको सामाजिक र कानुनी बहसमा ऐतिहासिक मानिएको छ ।

 

 

प्रतिक्रिया