बैंक घोटाला काण्डका अभियुक्त दोहोरी प्रतिष्ठानको सल्लाहकार !


दाङ – घोराहीको वेष्टर्न बैंकको १८ करोड घोटालाकाण्डका अभियुक्त दाङका खड्ग बुढाथोकीलाई राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान दाङको सल्लाहकार बनाएपछि प्रतिष्ठानको कार्य समितिभित्र चर्को विरोध भएको छ।

प्रतिष्ठानका जिल्ला अध्यक्ष राजेन्द्र दाहालले बुढाथोकीलाई एकलौटी रुपमा सल्लाहकारमा ल्याएपछि विरोध सुरु भएको हो। प्रतिष्ठानका सल्लाहकार रहेका बुढाथोकी निकट दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीको दबाबमा दाहालले उनलाई सल्लाहकारमा मनोनित गरेका हुन्।

प्रतिष्ठानले केहि दिनअघि महासचिव बुढाथोकीकै दवावमा लोकदोहोरी प्रतियोगिता राख्ने भन्दै अध्यक्ष दाहालको अध्यक्षतामा पत्रकार सम्मेलन गरेका थिए। नाचगानसहितको कार्यक्रम गर्न सो आयोजना हुने भनिएको कार्यक्रम कोरोनाको कारण रोकिने भएको छ।

सो कार्यक्रमका लागि सल्लाहकारमा मनोनित भएका बुढाथोकीले १ लाख सहयोग गर्ने वचन दिएकाले सो पदमा ल्याइएको भन्दै कार्य समितिभित्र ठूलो आलोचना र विरोध भएको छ।

यसअघि नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको स्थानीय आर्थिक विकास समितिको विशेष आमन्त्रित सदस्यमा मनोनित भएपछि बुढाथोकीको चर्को आलोचना भएको थियो। महासंघले हालै उनलाई सदस्यमा मनोनित गरेको हो।

वेष्टर्न बैंक देब बिकास हुँदै मर्ज भइ हाल कुमारी बैंक बनिसकेको छ। उनको हाल उच्च अदालत तुलसीपुरमा मुद्दा चलिरहेको छ। केही महिनाअघि उच्च अदालतले १२ लाख धरौटीमा बुढाथोकीलाई छाडेको हो।

दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वउद्योग उपाध्यक्ष समेत रहेका बुढाथोकीलाई उनको नाम आर्थिक अपचलनमा जोडिएर मुद्दा खेपिरहेको अवस्थामा पनि महासंघको सदस्यमा र प्रतिष्ठानको सल्लाहकारमा ल्याएपछि आलोचना सुरु भएको छ।

प्रतिक्रिया