

स्वयम्भूबाट ठुलो परिमाणमा अवैध सुनका गहनासहित एकजना पक्राउ

काठमाडौं– अवैध रूपमा आयात गरिएको सुनबाट तयार पारिएका गहनासहित काठमाडौँको स्वयम्भूबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ निवासी तथा हाल कलंकीमा बस्दै आएका दिपेशलाल चित्रकार रहेका छन् ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ स्थित आनन्दकुटीबाट उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार, आरोपीको साथबाट ठूलो परिमाणमा सुनका गहना बरामद गरिएको छ ।
बरामद गरिएका गहनामा नौगेडी ११ थान, सिङ्गल गेडी माला ७ थान, क्रिस्टलसहितको सुनको माला १३ थान, मङ्गलसूत्र ६ थान, सोली गेडी १ थान, टप ३ थान, क्लिप ९ थानसहित १४ प्रकारका गहना रहेका छन् ।
प्रहरी अनुसन्धान अनुसार, उनले अवैध रूपमा भित्र्याइएको सुनबाट गहना तयार गरी बिक्री गर्दै आएका थिए ।
मङ्गलवार गहना बेच्न खोज्दै गर्दा पक्राउ परेका उनलाई प्रहरीले राजस्व अनुसन्धान विभाग, हरिहर भवनमा बुझाएको छ ।

