रिङ्कु सदा मृत्यु प्रकरण : पञ्चायती गर्ने वडासदस्य साह जेल चलान


सिरहा- सिरहाको नवराजपुरकी रिङ्कु सदा सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु प्रकरणमा संलग्नलाई कारबाही अघि बढाइएको छ । पीडितलाई न्याय दिलाउन खोजिएको घटनामा पञ्चायती गर्ने वडा सदस्य नथुनी साहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

सिरहा जिल्ला अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई जेल पठाउने आदेश दिएको हो । साथै, घटनामा संलग्न अन्य ६ जनासँग जनही डेढ लाख रुपैयाँ धरौटी माग गरिएको छ। अपहरण तथा बलात्कारका मुख्य आरोपित दुई नाबालकलाई भने परिवारको जिम्मा लगाइएको छ ।

घटनामा संलग्न थप १० जना अझै फरार रहेको प्रहरीले जनाएको छ । अदालतले उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने आदेश दिएको छ ।

रिङ्कु सदा माघ २७ गते साँझ शौच गर्न जाँदा बलात्कृत भएकी थिइन् ।  घटना गाउँमै मिलाउन पञ्चायती बसेको थियो, जसले पीडितलाई प्रहरीमा जान नदिन आरोपितलाई मात्र जरिवाना तिराउने निर्णय गरेको थियो । तर, पीडितलाई धम्की आइरहेका बेला माघ ३० गते उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परिन् ।

घटना सार्वजनिक भएपछि प्रहरीले थप अनुसन्धान गर्दै ८ जनाविरुद्ध विभिन्न कसुरमा पूरक जाहेरी दर्ता गरेको छ ।

प्रतिक्रिया