छोरालाई निर्दोष भनेपछि विष्णोई समुदायले जलाए सलमान र उनका पिताको पुत्ला
काठमाडाैं- लरेन्स विष्णोई समुदायले भारतीय अभिनेता सलमान खान र उनका पिता सलिमकाे पुत्ला जलाएका छन् । केहीदिन अघि सलिमले सलमानको बचाउ गर्दै उनी निर्दोष भएकाे बताएका थिए । ‘केही अपराध गरेको छ, तपाईँहरूले देख्नुभएको छ ? तपाईँलाई थाहा छ ? छानबिन गर्नुभयो ? हामीले त कहिले पनि बन्दुक चलाएका छैनौँ ।’ सलिमले भनेका थिए । ‘घटनाको समयमा आफू त्यहाँ थिए भनेर सलमानले भनेका छन् ? उसलाई जनावर मार्नेमा कुनै शौक छैन, ऊ त पशुलाई माया गर्छ ’ सलिमले भनेका थिए ।
त्यसपछि सलमान खानलाई चेतावनी दिँदै उनीहरूले अभिनेता र उनका पिताको पुत्ला जलाएका छन् । विष्णोई समुदायका मानिसहरू शनिबार जयपुरमा भेला भएर उनीहरूको विरुद्धमा प्रदर्शन गरेका थिए । साेही क्रममा उनीहरूले सलिम खान र सलमान खानको पुत्ला पनि जलाएका थिए ।
सलिम खानले सलमान खानलाई निर्दोष बताए पनि उनले कालो हरिणलाई मारेको समुदायको दाबी छ । समुदायका लागि कालो हरिण आफ्नो सन्तान जस्तै भएको र कालो हरिणलाई मारेको कुरा आफूहरूले कहिले नभुल्ने समुदायको भनाइ छ ।
गिरोहले एनसीपीका नेता बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लिएपछि स्थिति झनै बिग्रिएको छ । सलमान खानले विदेशबाट आफ्नो लागि बुलेटप्रुफ कार अर्डर गरेको बताइएको छ ।