नुन हालेर ५ फिट गाडिएको झा दम्पत्तीको शव प्रहरीले यसरी निकाल्यो (तस्बिरहरू)


काठमाडौं– १० फागुनमा घरबाटै बेपत्ता पारिएका महोत्तरी पिपरा–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको ५ फिट तल गाडिएको शव प्रहरीले विहीबार उत्खनन् गरेको छ।

३२ दिनपछि प्रहरीले शव पत्ता लगाएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर महतो नेतृत्वको टोलीले उनीहरूको शव उत्खनन् गरेको हो। ति शव कंकाल हुने अवस्थामा छन्।

घरदेखि ३ किलोमिटर पर खाल्डो खनेर गाडेको अवस्थामा उनीहरुको कंकाल हुन लागेको शव फेला परेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) धीरजप्रताप सिंहले जानकारी दिए।

‘५ फिट तल खाल्डोमा खनेर गाडेको अवस्थामा उनीहरुको मानव कंकाल भेटिएको हो,’ डिआईजी सिंहले भने, ‘छिटो सडोस् भनेर नुन पनि हालेको रहेछ। लामो समयको मिहेनतपछि सफल भयौं ।’

स्थानीयले सडक छेउमा मानव खप्पर देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खप्पर भेटिएको स्थल उत्खनन् गर्दा दुई जनाको मानव कंकाल हुन लागेको शव भेटिएको डिआईजी सिंहले बताए।

झा दम्पत्तीका छोरा मनिष झाले शवको पहिचान गरेका हुन्। ‘झा दम्पत्तिका छोरा बुहारीले पहिचान गरेका हुन्। उत्खनन् गर्दा दुई जनाको कंकालसँगै गीतादेवीले लगाएको चुराका टुक्रा पनि भेटिएको छ,’ सिंहले भने।

यसअघि प्रहरीले ४६ वटा पोखरी सर्च गरेको थियो।

झा दम्पत्तीको अपहरणमा संलग्न पिपरा गाउपालिका ५ का ५२ वर्षीय रामबाबु यादव, उनका छोराद्वय २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ।

तर उनीहरुले संलग्नता स्वीकारेका छैनन्। मोही जग्गा विवादमा साक्षी बसेको हुनाले उनीहरूको अपहरणपछि हत्या भएको हुनसक्ने प्रहरीको दाबी छ ।

प्रतिक्रिया