

महोत्तरीमा मानव कंकाल भेटियो, झा दम्पतीमध्ये एकको हुनसक्ने आशंका

महोत्तरी – महोत्तरीको पिपरा गाउँपालिका–२ अत्तरामा एक मानिसको खप्पर फेला परेको छ। बाटोमा थुपारिएको माटोभित्र हड्डी मात्र भएको हात र थोरै कपा पनि भेटिएको प्रहरीले जनाएको छ।
हड्डी र खप्परको प्रकृति हेर्दा मृत्यु भएको धेरै समय नभएको हुनसक्ने १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) धीरजप्रताप सिंहले जानकारी दिए।
गत फागुन १० मा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतीरहेको अवस्थामा ओछ्यानसहितै वेपत्ता पारिएको थियो।
प्रहरीले त्यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको समयमा खप्पर भेटिएपछि उनीहरुकै हुनसक्ने आशंका पनि गरिरहेको छ। अहिले खप्पर भेटिएको घटनास्थलमा प्रदेशबाट एसएसपी मोसाउद अलिखाँडको टोली, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्याल्य महोत्तरीको टोली पुगेर घटनास्थललाई नियन्त्रणमा लिएको छ।
डिआइजी सिंहले घटनास्थल प्रहरीको टोली पुगिसकेको र अनुसन्धान कार्य अगाडि बढाएको बताए।

