

१२ बर्षअघिको सामूहिक बलात्कार काण्डका दोषी हुन् माओवादी नेता चौधरी, नालीबेली यस्तो छ
माओवादी नेत्री ओनसरी घर्तीलाई उद्घाटन गराएको असाह्य केन्द्रकी अर्की बालिका बलात्कार गरेको उजुरी प्रहरीकहाँ

दाङ– बालिका बलात्कारको आरोप लागेका नेकपा माओवादी केन्द्रका स्थानीय नेता तथा अनेरास्ववियु क्रान्तिकारीमा सम्बद्ध बिष्णु चौधरी १२ बर्षअघिको सामूहिक बलात्कार काण्डका मुख्य दोषी रहेको तथ्य खुलेको छ।
उनी घटनाको १० वर्षपछि ०७५ मा पक्राउ परी शक्ति केन्द्रका आडमा छुटेका थिए। विहीबार उनी पुनः आफैंले सञ्चालन गरेको असाह्य केन्द्रकी बालिका बलात्कारको आरोपमा प्रहरी अनुसन्धानको दायरामा परेका छन्।
१५ चैत, २०६५ मा गढवाकी १७ वर्षीया कल्पना खनालमाथि सामूहिक बलात्कार भएपछि उनको ८४ औं दिनमा उपचारका क्रममा मृत्यु भएको थियो ।
आफन्तलाई भेट्न गएकी खनाल हड्तालका कारण हिँड्दै आइरहेको अवस्थामा दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा केही युवाहरुको अपहरणमा परेर बलात्कृत भइन्।
सामूहिक बलात्कार काण्डका मुख्य दोषी तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीका ३१ वर्षीय चौधरीलाई सर्वोच्च अदालतबाट ३० फागुन २०७२ मा ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार जरिवाना तोकिएको थियो ।
अदालतको फैसलापछि फरार भनिए पनि राजनीतिक शक्तिको आडमा खुलमखुल्ला हिँडिरहेका चौधरीलाई प्रहरीले लामो समयपछि ३ माघ २०७५ मा पक्रेको थियो। तर शक्तिकेन्द्रको आडमा चौधरीले कारागारमा ३ महिना भन्दा बढी बस्न परेन।
पक्राउ परेको तीन महिनामै चौधरी छुटेको घोराही कारागारका जेलर विष्णु प्रसाद पाण्डेले पुष्टि गरे। ‘चैत २९, २०७५ मा उहाँ छुट्नुभएको हो। सर्वोच्च अदालतको १० लाख धरौटी बापत बुझी छोड्नु आदेशअनुसार तारेखमा छुटेको हो,’ जेलर पाण्डेले भने।
चौधरी जनता विद्यापीठ बिजौरीको स्वतन्त्र विद्यार्थी युनियन उपसभापति भएको बेला बलात्कार काण्ड भएको थियो। अदालतले सजाय फैसला गरिसक्दा पनि उनले बिजौरीमा असहाय बालबिकास नेपाल नामक संस्था दर्ता गरी सञ्चालन गरिरहेका थिए । तत्कालीन सभामुख तथा माओवादी केन्द्रकी नेता ओनसरी घर्तीले २९ पुस २०७३ मा चौधरीको संस्थाको उद्घाटन गरेकी थिइन्। यहिँबाट चौधरीको राजनीतिक पहुँचको पुष्टि हुन्छ।
बलात्कार घटनामा संलग्न अन्य ६ जनाले सजाय भुक्तान गरिसकेको र एक जना फरार छन्। चौधरीविरुद्ध नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीमाथि आक्रमण गरेको र विश्वविद्यालयको सम्पत्ति तोडफोड गरी चोरी गरेको घटना सम्बन्धमा समेत अनुसन्धान भएको थियो।
बिजौरी निवासी चौधरीमाथि आफैले चलाएको अनाथालयमा पढ्नका लागि बसेकी १६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेको छ।
दाङका प्रहरी उपरिक्षक (एसपी) गणेश चन्दले बुधबार राती नै चौधरीले बालिकामाथि बलात्कार गरेको उजुरी आएको र अहिले प्रहरीमा पीडित बालिकाको तर्फबाट जाहेरी आइसकेको पुष्टि गरेका छन्।
घटनाको अनुसन्धान गर्न आफूले निर्देशन दिइसकेको एसपी चन्दले बताए। जिल्ला प्रहरी कार्र्यलय दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालले चौधरीमाथि बालिका बलात्कारको आरोपसहित जाहेरी आइसकेको र घटनाको अनुसन्धान गरेर कानुन बमोजिम कारबाही हुने बताए।

