सीमावर्ती भारतीय बजार चन्दन चौकीबाट नेपाली मजदुर पक्राउ


काठमाडाैं- भारतीय वन विभागले काम गर्न गएका नेपाली मजदुरलाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजार चन्दन चौकीमा घर बनाउने काम गर्न गएका मजदुर कैलालीकाे कैलारी गाउँपालिका–३ का ७० वर्षीय सलेफु चौधरी र ३५ वर्षीय सोनु गिरीलाई वन विभागले पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गर्नुको कारणबारे यथेष्ट जानकारी प्राप्त हुन नसके पनि वन क्षेत्रमा पर्ने बजारमा घर बनाउन आएको भन्दै पक्रेर लखिमपुर पुर्याएको स्थानीयले जानकारी दिएका छन् ।

चन्दन चौकी बजार दुधुवा नेशनल पार्क क्षेत्रमा रहेको छ । सो बजारमा गुप्ता मिष्ठान भण्डारको घर बनाउन गएका दुवै मजदुरलाई भदौ १७ गते वन विभागले पक्राउ गरेको स्थानीय जीतबहादुर चौधरीले जानकारी दिए ।

पक्राउ गरेका दुवैलाई जनही नेपाली चार लाख रुपैयाँ जरिवाना तोकेको बताइएको छ ।  कैलाली ३ बाट प्रतिनिधित्व गर्ने संघीय सांसद् गंगाराम चौधरीले दुवै कामदारलाई रिहाइको पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । सदनमा बोल्दै उनले घरको मालिकलाई पक्राउ गर्नु पर्नेमा भारतीय वन विभागले मजदुरलाई पक्रेर जरिवानासमेत तोकेका सदनलाई जानकारी दीए ।

प्रतिक्रिया